करिब सात वर्षदेखि बन्द रहेको सरकारी स्वामित्वको नेपाल औषधि लिमिडेट फेरि औषधी उत्पादन सुरु गर्ने भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज आयोजित पत्रकार सम्मेलनमा उद्योगलाई अन्तरराष्ट्रिय मापदण्डअनुसा सञ्चालन गर्ने र त्यसका लागि प्रारम्भिक अवस्थामा सरकारले रु १५ करोड ६५ लाख ऋणस्वरुप लगानी गर्ने जानकारी दिनुभयो । पहिलो चरणमा सरकारले अत्यावश्कीय सूचीमा रहेका ४८ प्रकारका औषधि उत्पादन गर्ने पनि मन्त्री जोशीले जानकारी दिनुभयो । नेपाल औषधि लिमिडेटका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले हाल उद्योगमा कार्यरत ९७ कर्मचारीलाई स्वेच्छिक अवकाशमार्फत कम गरी आवश्यक पर्ने १९ जना विषय विज्ञ थप गरेर जनशक्ति व्यवस्थापन गर्ने योजना रहेको बताउनुभयो । उद्योग मन्त्रालयले उद्योगको पुनः सञ्चालन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न डा पुष्कर बज्र्राचार्यको संयोजकत्वमा डा जगदीश अग्रवाल, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुसाललगायत सदस्य रहेको सात सदस्यीय समिति पनि बनाएको छ ।