काठमाडौं, असोज २२ – नयाँ सरकार गठनको लागि संसदमा बहुमतीय प्रक्रिया सुरु हुने भएपछि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । अरु दलले भने औपचारिक निर्णय गरेका छैनन् ।
सरकारको नेतृत्वबारे औपचारिक धारणा सार्वजनिक गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहान साढे १० बजे बालुवाटारमा बस्दैछ । कांग्रेसको बिहीबारको बैठकमा धेरै नेताहरुले संविधान निर्माणको नेतृत्वकर्ता ठूलो दल भएका हैसियतले संविधानको कार्यान्वयनका लागि पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिएका छन् ।
पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले केन्द्रीय समिति बैठकमा बोल्ने धेरै सदस्यले अहिलेको अवस्थामा कांग्रेसको नेतृत्वमै सहमतिको सरकार हुनुपर्ने बताएको जानकारी दिनुभयो । संस्थागत रुपमा कांग्रेसले सरकारको नेतृत्व गर्ने भन्ने निर्णयमा पुग्नेबित्तिकै कुन व्यक्तिले नेतृत्व गर्छ भन्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने उहाँको भनाई छ । कांग्रेसका केही नेताहरुले पहिले भएको अनौपचारिक सहमति अनुसार एमाले नेतृत्वमा सरकार गठनको लागि समर्थन गर्नुपर्नेमा पनि जोड दिँदै आएका छन् ।
यस्तै एकीकृत माओवादीको स्थायी समिति बैठक पनि बस्दैछ । एकीकृत माओवादीले यसअघि भएको सहमति अनुसार एमालेलाई समर्थन गर्नुपर्ने बताएपनि औपचारिक निर्णय गरिसकेको छैन ।
यस्तै नयाँ सरकार गठन, मधेस आन्दोलन र नाकाबन्दी लगायतका विषयमा छलफल गर्न राप्रपा नेपालको पनि केन्द्रीय कार्य समिति बैठक पनि बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बराहीमा बस्नेछ ।
राप्रपा नेपालले मुख्य तीन दल सरकारमा सहभागी भए प्रतिपक्षमा बस्ने, तर तीन दलमध्ये कुनै एक प्रतिपक्षमा बसेको अवस्थामा सरकारमा सहभागी हुने बताउँदै आएको छ ।
Posted on 2015-10-09