काठमाडौं, असोज ८ -एमाले वरिष्ठ नेता झलनाथ खनालले नेपालको नाका बन्द गरिनु अन्तराष्ट्रिय पारवाहन अधिकार विपरीत भएको बताउनुभएको छ ।
रिपोटर्स क्लबमा भएको कार्यक्रममा खनालले सीमा नाका बन्द गरेर नेपाललाई असजिलो बनाउन खोज्नु भारतको कमजोरी भएको उल्लेख गर्नुभयो । नेता खनालले नेपालको पारवहन अधिकार भारतको कृपाको विषय नभई अन्तर्राष्ट्रिय अधिकार भएकाले भारतले नेपालमा आवश्यक सामग्री आपूर्ति गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले मुलुकको सार्वभौमिकता, अखण्डता र स्वाधीनताको विषयमा कसैसँग सम्झौता नहुनेमा जोड दिँदै हामीले पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकी राष्ट्रसँग सम्बन्ध अझै सुदृढ बनाउनुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले नेपालको संविधान बनाउन हामीले कसैलाई सोध्नुनपर्ने विचार व्यक्त गर्दै हामी आफ्नो आन्तरिक मामिलाको समस्या आफैँ समाधान गर्न सक्षम छौँ, कसैको पनि हस्तक्षेप स्वीकार्य हुने छैन भन्नुभयो ।
नेता खनालले यही असोज ३ गते जारी भएको संविधानले देशको भविष्यका लागि दूरगामी महत्व राख्ने हुँदा संविधान कुनै पनि हालतमा लागू गर्ने बताउँदै अब मुलुकमा गरिबी, बेरोजगारी, अशिक्षा र रोगव्याधि उन्मूलन गरी आर्थिक रुपान्तरणका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले नयाँ संविधानमा सङ्घीयता, मधेसी आयोग, समानुपातिक समावेशीता, मौलिक हक नागरिकताको समस्या, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाउनेजस्ता सबै विषय समावेश भएको अवस्थामा तराईमा आन्दोलनको अर्थ नरहेको बताउनुभयो ।
Posted on 2015-09-25